
घर पछाडि सनरूफको छाहरीमा बसीरहेको थिए। तातो घामको रापलाई पार लगाउँदै शीतल हावाले स्पर्श गरिरहेको थियो। माथी निलो आकाश, टाढा-टाढा छरिएको सेतो बादलको बिचमा निरभिक्क र सुन्दर देखिएको थियो। हावाको बेगसँगै झुलेका रुखको समिकरण हेर्दा यस्तो लाग्थ्यो, उनीहरू एक-अर्कासँग कुरा गर्दै योजना बनाएर झुलिरहेछन्। यो चित्रदर्शी दृश्यमा मेरो मन साह्रै रमाइरहेको थियो।
रहरले बनाएको सानो बारीमा तरकारीहरु बढ्दै गएका थिए, केहिले त फूल खेल्न थालिसकेका पनि थिए। बाँझो माटोलाई खनेर लगाएको दाना, उम्रिएर विरुवाहुँदै बोटसम्म भएको आफैले देख्दा रहरमा परिश्रम र लगावले साँच्चिकै परिवर्तन ल्याउँदो रहेछ भन्ने महसुस पनि भयो।
आँखाहरु यही यथार्थमा व्यस्त थिए, मनमा भने अनेकौं परिदृश्यहरू खेल्दै थिए – यो ठाउँमा यसरिनै बसेर आफूलाई माया गर्ने उनीसँग यो पल साट्ने रहर लाग्यो। मलाई पनि प्रेमको बिउँ लगाउने इच्छा जाग्यो – जुन सुन्दर बोटमा माया, ममता र स्नेह मात्र फलिरहनेछ, सधैँभरि।