A Letter to Homeless, Washington Union Station

Union Station, Washington DC

प्रिय साथीहरू,


सन्चो बिसन्चो सोध्न मन छ, तर त्यसको जबाफ आउँदैन होला। दिनहुँ देख्छु तिमीहरूलाई तैपनि अवस्था कस्तो छ प्रत्यक्ष सुन्न पाएको छैन, देख्ने भने गरेको छु। देख्दा दयनीय लाग्छ, मन भरिएर आउँछ। त्यसैले यो लेख्दै छु। मेरो देखाई, तिम्रो भोगाई; मेरो बुझाई, तिम्रो वास्तविकता; मेरा भावना, तिम्रा यथार्थ; मेरो नजरमा तिम्रो वर्तमान, तिमीलाई यहाँ पुर्याउने तिम्रो विगत – सबैको प्रस्ट जानकारी गर्न मन छ। तिम्रो कथा तिम्रै आडमा आएर सुन्न मन छ। अहिलेलाई भने मेरो दृश्यमा कैद तिम्रो जीवन र मनमा आएका भावनाहरूलाई यस पत्र मार्फत व्यक्त गर्दै छु।


युनियन स्टेसनमा यात्रुहरूलाई ट्रेनले पुर्याउँछ, तिमीलाई युनियन स्टेसन केले पुर्याएको हो? जान्न मन छ। तिम्रो गरिबीले? श्रृंखलाबद्ध गरेका गलत निर्णयले? जीर्ण गल्तीहरूका चाङले? लागू पदार्थ सेवनले? तिरस्कृत परिवारले? अपहेलित समाजले? कि, आफ्नै रोजाइले? मलाई जान्न मन छ। जे जस्तो गोरेटोले तिमीलाई यहाँ पुर्याए पनि अहिले तिम्रो अवस्था देख्दा मन चिसिएर आउँछ। म जस्तै एउटा मानव त्यस्तो असहाय अवस्थामा जिन्दगीलाई ठेली रहेको देख्दा सोच्ने गर्छु तिमीलाई आफ्नै परिस्थितिको चेतना होलाकि नहोला भनेर।


कोही शारीरिक रूपमा बलिया देख्छु र त्यस्तो मानसिक असन्तुलनको सिकार पनि नभएको। कोही भने तड्पिरहेको देख्छु, एक्लै बरबराइरहेको – ठूला स्वरमा कसैलाई गाली गरे सरह चिच्याईरहेको। कोही एक्लै केही सम्झिँदै हाँसिरहेको भने कोही एउटा कुनामा ग्रोसरी बाहेक अरूले भरिएको कार्टको आडमा किताब पढेको। कोही एक्लै निरन्तर चुरोट माथि चुरोट खाएको, कोही १ लिटरको कोक सोडा पिएको त कोही उदार यात्रुले ल्याइदिएको खाना खादैगरेको।

म तिमीहरूलाई बिहान – साँझ देख्छु। दिनहरू कसरी बित्दा हुन्? रातलाई कसरी पार लगाउँछौ? पानीको ओत, घामको शीतल र चिसोको न्यानो कसले दिन्छ तिमीलाई? त्यो स्टेसनका भित्ता र छानाले केही मद्दत त पुर्याउँछन् होला तर भोको पेट लिएर छानो मुनि कहाँ पेट अघाउँछ र। सामाजिक प्राणी मानवलाई चाहिने समाज, परिवार र साथीहरूविहीन त छँदैछौ, त्यसै माथि बाँच्न चाहिने आधारभूत आवश्यकताका – गाँस, बास, कपासदेखि पनि। तर पनि बाँचिरहेको छौं। तिमी वास्तवमा बलवान छौ। साहसी छौ। हिम्मतदार छौ।


सास रहुन्जेल आस रहन्छ। आफ्नो अँध्यारो परिस्थितिसँग जुध्दा जुध्दै उज्यालोका किरण खोज्न नसकेको होला। म बुझ्छु। आफ्नो पारिश्रमिकबाट हातमुख जोर्न नपाएको अवस्थामा अरूले दिएका सिक्काहरूलाई सँङ्‌गालेर बल्लतल्ल एक छाक मुख मिठाउने प्रयास गरिरहँदा त्यहाँबाट उम्कने उपायहरू बारे सोँचाईनै आउँदैन होला। आइहाले पनि – कहाँ गएर, कसकोमा के गरेर, कसरी परिवर्तन हुने अन्यौलताले ती सोचाइलाई दबाउँछ होला। सायद म र बाँकी मानव जातिको जिम्मेवारी त्यहाँ आवश्यक पर्छ होला।


म आफूपनि तिम्रो भलो चिताउँछु। तिमीलाई पनि कतिले आशीर्वाद दिएका थिए होलान्, जीवन यात्रामा। के समय र भाग्य तिमीसँग त्यत्ति कठोर भएको हो? सुखी जीवन र खुसी परिवारको कल्पना त तिमीले पनि गरेका थियौ होला नि है? सुन्दर भविष्य निर्माणमा केही संघर्षका पहल पनि गरेका थियो होला? कुन विन्दुमा पुगेर जिन्दगीले यो मोड लियो? त्यसको बारे कहिलेकाहीँ सोच्ने गर्छौ? जिन्दगीमा अर्को मौका पाए समयको कुन कालखण्डमा पुगेर के परिवर्तन गर्थ्यौ? खैर, फर्केर हेर्दा धेरै केलाउन सकिन्छ। कति स्मृतिहरूले पछुतो तुल्याउँछन् होला, कतिले आत्मागलानी, कतिले मुहार चम्किलो त कतिले पाठ सिकाउँछन् होला।

जीवनमा भावनाभन्दा माथि गएर यथार्थलाई हेर्नू पर्दो रहेछ। म पनि त्यहीँ गर्ने प्रयासमा छु। तर, म जति तिम्रो यर्थाथलाई देख्छु त्यति भावुक हुन्छ। तिमीलाई माया गर्ने मान्छे छन्? कि, कोही नभएर यहाँ पुगेको हो? दुःखका घडी कसरी बिताउँछौ? की, समयको कुनै ख्याल छैन? दिन रातको महसुस हुन्छ? की, सबै समान लाग्छ? छरपस्ट च्यातिएको कपडाले मैलो शरीरलाई बल्लतल्ल ढाकिरहँदा नयाँ लुगाको चाहना आउँछन् मनमा? धूलो मैलोले लट्टा परेको कपाल धुन मन लाग्छ? कि, पिउने पानी पाउँदैमा खुसी हुन्छौं? तिमीले लगाउने जुत्ता चप्पल पुराना देख्छु, सायद च्यातिएका होलान्, प्वाल परेका होलान्, थाह छ? की, पानी पर्दा मात्र अनुभूति गर्छौ?


जब तिमी फोहोरको नजिक पुगेर अरूले फालेका खानाका बाँकी केही टुक्रा-टुक्रीले आफ्नो भोकको रागलाई थमाउने कोसिस गर्छौ त्यति म तिमीतिर दृष्टि निषेध गर्छु, आँखा घुमाउँछु, केही नदेखेझैँ – मनको चस्काइलाई कम गर्न। जब तिमी मेरो निकट हुन्छौं, म त्यत्ति टाढिन्छु त्रासले – किन हो थाह छैन। जब तिमीले भुइँका चुरोटका ठेटा बटुली रहेको हुन्छौ, त्यो दृश्यले मेरो मनमा पोल्छ – मानौँ हजारौं बलेका चुरोटले एकै पटक ठोसे जस्तै। सोच्ने गर्छु भोको पेट र चुरोटको तलतलमा पहिला कुन मेटाउथ्यौ होला? तर तिमी नाजुक छौ, विवश छौ, कमजोर छौ। जे कुराले तिम्रो विपन्नतालाई १ मिनेट भएपनि भुलाउँछ त्यसलाई सहर्सै अर्पण गर्थेउ होला।


तर तिमीलाई यस्तो अवस्थामा देख्दा केही खाना किनेर ल्याइदिने आँट आएको छैन, दिन – दिनै आस गर्छौ कि भनेर। घरमा रहेका केही लत्ता कपडा दिने हिम्मत आएको छैन – स्विकार्दैनौं कि भनेर। तिम्रो सामु आएर १०-२० डलर सहयोग गर्ने उदारता आएको छैन – त्यसको दुरुपयोग गर्छौ कि भनेर। तर मलाई अब चेतना हुँदै आएको छ – म तिम्रो व्यक्तित्व र व्यवहार प्रति पूर्वग्राही भएको रहेछु। मनगढन्ते गलत अनुमान गरेको रहेछु। तिमीप्रति सद्भावना छ, तर योगदान भएन। तिमी प्रतिका स्नेह र करुणा भावनामा सीमित भए, कार्यमा परिणत भएनन्। त्यो मेरो कमजोरी हो। मेरो बुझाई गलत हो।


यो मेरो आत्मा समीक्षा हो। म पनि एउटा असल र उदार मानिस बन्ने कोसिस गर्दै छु। जो सँग जे छ, जति सकिन्छ, त्यति दिने हो – के थाहा भोलि म सँग पनि केही नभएर यहीँ युनियन स्टेसनलाई घर बनाउनुपर्यो भने । त्यतिबेला म पनि दयालु मनहरूलाई खोजिरहेको हुनेछु।

जसको आसमा तिमी अहिले स्टेसनमा पर्खिरहेका हुन्छौ – म कुनै दिन तिम्रो त्यो आसको अवसर बन्न सकुँ। मेरो यो संकल्प तिम्रो शक्ति बनोस्, मलाई त्यसैमा मानवताको बोध हुनेछ।

शुभेच्छा,
दीपक